ख्यातिप्राप्त लोक-शास्त्रीय सांगितिक समूह सुकर्म फ्रान्स र स्विट्जरल्याण्डका विभिन्न सहरहरूमा सांगितिक प्रस्तुति दिन आज बिहीबार पेरिस उड्दै छ । समूहले आफ्नो पहिलो प्रस्तुति जेठ १८ गते शनिबार नेपाल संस्कृतिक गृह पेरिसद्वारा आयोजित नेपाल महोत्सवका दौरान पेरिसमा गर्ने छ। अन्य दुई फ्रान्सेली सहरहरू भिब्रेन र ला पारानासका सांगितिक प्रस्तुतिमा पनि समूह सहभागी हुनेछ। फ्रान्सको तेस्रो प्रस्तुति ला पारानास सहरस्थित रेलको पुरानो गोदामघरलाई बदलेर बनाइएको एक चित्ताकर्षक प्रेक्षालयमा हुनेछ।

समूहले स्विट्जरल्याण्डका लुसान, ग्रुएर, इन्ट्राग्निया र रोमोन्ट सहरहरूमा सांगितिक प्रस्तुति दिने कार्यक्रम छ। रोमोन्ट सहरमा समूहले मुस्ताङ जिल्लामा सौर्य प्यानल जडान गरेको स्वीस गैरसरकारी संस्था ग्रुप ईएसएको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सांगितिक प्रस्तुति दिनेछ।

सुकर्मको भ्रमणटोलीमा समूहका स्थायी सदस्यहरू डा. ध्रुवेशचन्द्र रेग्मी सितारमा र प्रमोद उपाध्याय तवलामा हुनेछन्। समूहका तेस्रा सदस्य श्याम नेपाली (सारङ्गी) को व्यस्तताका कारण आगन्तुक सदस्य नगेन्द्र राईले बाँसुरीमा साथ दिनेछन्।

‘हामी एक दशकदेखि बिभिन्न सांगितिक महोत्सवहरू र नेपाली तथा नेपाललाई माया गर्ने व्यक्ति तथा संस्थाहरूको निमन्त्रणामा युरोपका सहरहरूमा सांगितिक प्रस्तुति दिँदै आएका छौं”, युरोप प्रस्थान गर्नुअघि सुकर्मका रेग्मीले भने, “पोहरसालको यसै याममा हामी ‘एनसेल सुकर्म यात्रा’ अन्तर्गत नेपालका दस सहरहमा कन्सर्ट गर्दै थियौं।